दाङ । दाङमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी बस्दै आएका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका १० का ३४ वर्षीय गोपाल ओलीले धारिलो हतियार प्रहार गरी श्रीमती कमला ओलीको हत्या गरेको प्रहरीले जनाएको छ ।
बिहीबार साँझ साढे ७ बजेतिर गोपालले धारिलो हतियार प्रहार गर्दा २७ वर्षकी श्रीमती कमलाको टाउको र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । कमलाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । ओली सरकारी कर्मचारी रहेको खुलेको छ । गोपाललाई प्रहरीले नियन्त्रण लिइसकेको छ ।
गोपाल भाइको काजकिरिया सकेर दाङ फर्किएका थिए । उनका भाइ महेन्द्र ओलीले चैत्र १ गते रुकुम पश्चिमको मुसिकोट १ को खलङ्गा र सल्ले जोड्ने बराहटाकुरा पुलबाट हाम फालेर आत्महत्या गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











