इन्द्रेणी संवाददाता
दाङ । अत्यधिक चिसो बढेपछि दाङ पाँच पालिकामा विद्यालय बन्द भएका छन् । जिल्लाको घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले आज बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
अत्यधिक चिसो बढेका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन दिन विद्यालय बन्द गरिएको पालिकाहरुले जनाएका छन् । विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिनका लागि उपमहानगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालय बिदा दिएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ऋषिराम केसीले बताए ।
त्यस्तै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र राप्ती गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले चिसो बढेपछि तीन दिन विद्यालय बन्द गरिएको जानकारी दिए ।
स्थानीय सरकारको निर्णयलाई बेवास्ता
यता पालिकाहरुले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय विदा गर्ने निर्णय गरेपनि केही निजी विद्यालयहरुले भने विद्यालय सञ्चालन गर्ने आन्तरिक तयारी गरेका छन् । विद्यार्थीहरुको तेस्रो त्रैमासिक परीक्षा नजिकै आएको भन्दै घोराहही क्षेत्रका केही संस्थागत विद्यालयले विद्यालय सञ्चालन गर्न लागेका छन् । स्थानीय सरकारले दिएको विदालाई अटेर गर्दै उनीहरुले विद्यालय सञ्चालनको तयारी गरेका हुन् ।











