काठमाडौं । केही दिनदेखि तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ । बाक्लो कुहिरो र हुस्सुका कारण घाम लागेको छैन । घाम नलाग्दा चिसो अत्यधिक बढेको छ । चिसोले जनजीवन प्रभावित भएको छ । विशेष गरी बृद्धबृद्धा, मजदुर वर्ग, स्कुले बालबालिका प्रभावित भएका छन् । आज पनि यो क्षेत्रमा हुस्सु लागेको छ । पुस पहिलो हप्तायता निरन्तर लागेको हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बनेको छ ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । हिमाली र उच्च पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । आज कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस छ ।