काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने भएको छ । बिहीबारको संसदमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०८१/८२ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सोबारे जानकारी गराएका हुन् ।
उनले प्रदेशगत रूपमा मधेश प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दा माथि रहेको जानकारी दिनुभयो ।
अर्थमन्त्री पौडेलकाअनुसार चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब पुग्ने अनुमान छ । यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ । प्रति व्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार पाँच सय १७ अमेरिकी डलर पुगेको छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय खर्च ४.७ प्रतिशत र सङ्घीय राजस्व १२.६ प्रतिशतले बढेको छ । वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्यरूपमा बढेको छ । यस अवधिमा सङ्घीय सरकारको वित्त घाटा १६ अर्ब १९ करोड रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड रहेको थियो । २०८१ फागुनसम्म सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो ।











