इन्द्रेणी संवाददाता
दाङ । नेपाल प्रेस युनियन दाङले दाङले दाङ जिल्लाबाट प्रतिनिधित्व गरी नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रमा निर्वाचित भएका पदाधिकरी, सदस्य, राष्ट्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ । शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रममा बोल्ने वाक्ताहरुले सूचना प्रविधिको विकाससँगै नेपाली पत्रकारितालाई वदनाम गर्ने प्रकारका गतिविधि पनि बढेको भन्दै मर्यादित पत्रकारिताको आवश्यकता भएको बताएका थिए । पछिल्लो चरणमा विविध कारणले मिडियाहरु संकटमा पर्दै गएको भन्दै यसप्रति पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको ध्यान जानुपर्ने पनि वक्ताहरुको धारणा थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपालमा भएका युगान्तकारी परिवर्तमान नेपाल पत्रकार महासंघको भूमिका अतुलनीय भएपनि राज्य सधै नेपाली पत्रकारितालाई संकुचित बनाउने काममा लाग्ने गरेको बताए । ‘राज्यले नेपाली पत्रकारितालाई सवलिकरण गर्न, जिबन्त बनाउन के ग¥यो भन्ने हो भने राज्यसँग जवाफ नै छैन, बरु पत्रकारिता क्षेत्रलाई कसरी संकुचित बनाउन सकिन्छ भन्नेमा निरन्तर लागेको देखिन्छ‘, उनले भने ।

नेपाली पत्रकारिता क्षेत्रको सवलिकरण र विकासका लागि राज्यको नीतिमै सुधार गर्न जरुरी रहेको उनले बताए । राज्य नेपाली पत्रकारिताको अभिभावक बन्नुपर्नेमा पटक–पटक स्वतन्त्र पत्रकारितामाथि अंकुस लगाउने गरी कानुन निर्माण गर्न खोजेको पोख्रेलको आरोप थियो । तर राज्यले जति मिडियामाथ अंकुस लगाउन खोजेपनि समाज सहँदासम्म पत्रकारिता नमर्ने बताए । सञ्चारमाध्यममा जाने विज्ञापनको प्रशंग कोट्याउदै पोख्रेलले राज्यले नै विचौलियालाई मलजल गरेकाले सिधै विज्ञापन मिडियासम्म पुग्न नसकेको बताए । नेपाली पत्रकारिता अत्यन्तै चुनौतीपूर्ण भएकाले पत्रकारितालाई निष्पक्ष, मर्यादिन र श्रमको सम्मान हुने पेशाको रुपमा विकास गर्न नेपाल पत्रकार महासंघ चनाखो हुनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव सविन प्रियासनले पछिल्लो समयमा मोफसलका सञ्चारमाध्यम आर्थिक संकटका कारण बन्द हुने अवस्थामा पुगेको भन्दै स्थानीय तहका विज्ञापन कम्तीमा पनि स्थानीयकै मिडियामा दिने वातावरण तयार पार्नुपर्ने बताए ।

प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महासंघका पूर्वअध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, महासंघ दाङका उपाध्यक्ष नारायणी रजौरे, सचिव जेएन सागर, सल्लाहकार दुर्गालाल केसी, महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्मा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टिका बस्नेत, प्रेस युनियनका पूर्वअध्यक्ष सुशील बस्नेतलगायतले शुभकामना दिएका थिए ।

सो अवसरमा नवनिर्वाचितहरुलाई टिका र मालाले सम्मान गरिएको थियो । युनियनका उपाध्यक्ष गोपाल शर्मा भट्टराइको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव अमर क्षितिज भण्डारले गरेका थिए ।

यसैबीच नेपाल निजामती कर्मचारी संगठन दाङले पनि एक कार्यक्रमको आयोजना गरी महासंघमा नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरेको छ ।