घोराही । दाङमा माघ सांस्कृतिक महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महोत्सवको उद्घाटन गरे । थारु कल्याणकारीणी सभा दाङले आयोजना गरेको महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताए ।
प्रदेशमा झण्डै १५ प्रतिशत थारु समुदायको जनसंख्या रहेकाले त्यसलाई सम्बोधन गर्दै राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित गरिएको र निजामती सेवामा प्रवेश गर्न आह्वान गरे । “प्रदेश निजामती सेवा ऐनले थारु समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । अब नियमावली बनाएर कार्यान्वयनमा लैजान्छौं”, उनले भने, “थारु समुदायको प्रतिनिधित्वलाइ राज्यले सम्बोधन गरेको छ । युवा पुस्ता अब आफ्नो समुदायको विकास र समृद्धिकालागी अघि बढ्न जरुरी छ ।”
मुख्यमन्त्री आचार्यले प्रदेशमा बोलिने थारु लगायत चलनचल्तीको भाषालाई सरकारी कामकाजको भाषा बनाउनेगरी ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । महोत्सव भोलि पुस २० गतेसम्म महोत्सव चल्नेछ ।
महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकार माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिएको छ ।











