काठमाडौँ । मनसुनी न्यूनचापीय रेखा नेपाल आसपास कायम रहेकाले नेपालबाट मनसुन बाहिरिने मिति थप पछाडि धकेलिएको छ । यो वर्षको मनसुन बाहिरिन अझै करिब एक साता लाग्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन बाहिरिने पूर्वनिर्धारित मिति अक्टोबर २ अर्थात् बुधबार रहेको थियो । भारत हुँदै नेपालमा मनसुन भित्रिए जस्तै भारतबाट नेपालतिर सुक्खा मौसम सर्दै आएर मनसुन बाहिरिने गर्छ ।
भारतको पश्चिमी भेगतिर मात्र मनसुन बाहिरिने तरखरमा रहेकाले पनि त्यो मौसमी चक्र नेपालसम्म आइपुग्न पाँचदेखि सात दिनसम्म लाग्ने मौसमविद् बताउछन् । अझै एक साताजति मध्य र पूर्वी नेपालमा मनसुनको वर्षा गराउने प्रणाली सक्रिय छ । तर मनसुन रहेपनि ठूलो वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।











