काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षामा ५६ दशमलव ७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार उक्त परीक्षाको नतिजा सार्वजनिक गर्दै दुई लाख १० हजार ३२१ जना सहभागी भएकोमा एक लाख १९ हजार ४२५ जना उत्तीर्ण भएको जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।
ग्रेडवृद्धि परीक्षामा जिपिए ३.६१ देखि ४ सम्म जम्मा १८ जनाले ल्याएका छन् । जिपिए ३.२१ देखि ३.६० सम्म एक हजार ५१८ जनाले ल्याएका छन् । त्यस्तै जिपिए २.८१ देखि ३.२० सम्म २३ हजार ६२३ जनाले ल्याएका छन् । जिपिए २.४१ देखि २.८० सम्म ७४ हजार ४६० जनाले ल्याएको बोर्डले जनाएको छ । बोर्डका अनुसार जिपिए १.६० देखि २ सम्म भने ६४ जनाले मात्रै ल्याएका छन् ।
२०८० सालको एसइईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए । यसअघि असारमा सार्वजनिक भएको एसइईको नतिजामा ४८ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका थिए ।
ग्रेडवृद्धि परीक्षामा उत्तीर्ण विद्यार्थीले दसैँअघि नै कक्षा ११ मा भर्ना हुने मौका पाएका छन् । तर उनीहरूको पढाइ भने नियमित विद्यार्थीभन्दा दुई महिना ढिलो भइसकेको छ ।











