दाङ। उपचारका लागि घोराहीस्थित इन्टरनेशनल हस्पिटल घोराहीमा ल्याइएका बालकको ज्यान गएपछि उत्पन्न तनाव सुल्झिाएको छ । हस्पिटल र पीडित पक्षबीच सहमति भएपछि तनाव सुल्झिएको हो ।

घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । अस्पतालको सेवाका विषयमा पटक–पटक प्रश्न उठेको र अहिले पनि यो घटना भएपछि नियमनकारी निकायकै नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिका, नाक, कान, घाँटी विशेषज्ञ तीनजना र पीडित पक्षको प्रतिनिधि छानविन समिति सदस्य छन् । अस्पताल प्रदेशकै मातहतमा रहेकोले लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयकै नेतृत्वमा समिति बनेको हो ।

अस्पताल र पीडित पक्षबीच आपसी समझदारी भएपछि मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

केही दिन अघि उपचारका क्रममा उक्त अस्पतालमा राजपुर गाउँपालिका–१ का नौ वर्षीय बालक सुरेश कँवरको ज्यान गएको थियो । उपचारका क्रममा बालकको एक्कासी ज्यान गएपछि डाक्टरको लापरावाहीका कारण भन्दै मृतकका आफन्ताहरुले आन्दोलन गर्दै आएका थिए । सहमति पछि आन्दोलन फिर्ता भएको छ । यो हस्पिटल पटक पटक यस्ता घटना हुदा विवादित बन्दै आएको छ ।