दाङ। आगामी फागुन २० गतेदेखि रिक्त हुन लागेको १९ सिटका लागि आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ३०३ मत मात्रै खसेको छ । लुम्बिनी प्रदेशमा रहेको ३०५ मतमध्ये निर्वाचनमा ३०३ मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रदेश सभाअन्तर्गत ८७ जनाले नै मतदान गरे भने स्थानीय तहतर्फ २१६ जनाले मात्रै मतदान गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन् ।

स्थानीय तहतर्फ बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय निर्वाचनमा सहभागी हुन नसकेको बताइएको छ ।

गठबन्धनको तर्फबाट महिला कोटामा कांग्रेसबाट विष्णुदेवी सापकोटा, एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह र अन्य कोटामा गठबन्धनबाट माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी, एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बालगोविन्द चौधरी उम्मेदवार छन् । मतदान सम्पन्न भएपछि मत गणनाको तयारी भइरहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।