दाङ । महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा नेपाल पत्रकार महासंघ दाङ महिला विभागले आयोजना गरेको नृत्य प्रतियोगितामा पत्रकार सरिता नेपाली प्रथम भएकी छन् ।
मंगलबार पत्रकार महासंघको हलमा आयोजना गरिएको तीज मिलन तथा नृत्य प्रतियोगितामा पत्रकार नारायणी डाँगी द्वितीय र देवका परियार तृतीय भएकी छन् । महिला विभागले पत्रकारहरुबीच नृत्य प्रतियोगिता आयोजना गरेको थियो । विभिन्न १० जना पत्रकारहरुले भाग लिएको प्रतियोगिताका विजयीहरुलाई महासंघले साडी पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश परिषद् सदस्य शारदा शर्मा, महासंघ दाङका पूर्वउपाध्यक्ष लीला शाह, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य एवं दाङ सहइन्चार्ज रीता लामा, महिला पत्रकार मञ्चका पूर्वअध्यक्ष सुशीला आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष एवं महिला विभाग प्रमुख बसुन्धरा गौतमको अध्यक्षता तथा महासंघका सल्लाहकार लक्ष्मी आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।











