काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० किलो सुन तस्करीसम्बन्धी अनुसन्धान टुंग्याएको छ । करिब ४० दिन लगाएर अनुसन्धानको काम सकेर सिआइबीले आज अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउदैछ ।
अनुसन्धानको प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा पेस गरिने नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । ‘६० किलो सुन तस्करीसम्बन्धी अनुसन्धान सकिएको छ । अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिल कार्यालयमा पेस हुनेछ । त्यसअघि सिआइबीले पत्रकार सम्मेलनमार्फत आवश्यक विवरण पनि सार्वजनिक गर्ला,’ उनले भने ।
तस्करी प्रकरणमा ३० जना अभियुक्त छन् । सिआइबीले २१ साउनदेखि अवैध सुन चोरी पैठारी तथा संगठित अपराधअन्तर्गत ६० किलो सुन तस्करीको अनुसन्धान गर्दै आएको थियो ।
राजस्व अनुसन्धान विभागले गत ३ साउनमा विमानस्थलस्थित भन्सार कार्यालयबाट बाहिरिँदै गरेको मोटरसाइकल तथा स्कुटरको ‘ब्रेकसु’ बरामद गरेको थियो । सोही ब्रेकसुभित्र लुकाएर ६० किलो सुन तस्करी गरिएको थियो । उक्त सुन हङकङबाट विमान हुँदै काठमाडौं ल्याइएको थियो ।
