काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग विश्वासको मत मागेका छन् ।

बुधबार प्रधानमन्त्री प्रचण्ड र नेपालको नेकपा माओवादी केन्द्रको सिंहदरबारमा भेट भएको थियो ।

उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेकाे उनका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

एकीकृत समाजवादीले सत्ता गठबन्धनमा सहभागी हुने–नहुने विषयमा निर्णय गरिसकेको छैन । यस सन्दर्भमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार र मंगलबार दुई दिन पोलिटब्युरो बैठक बसेको थियो ।

तर, उक्त बैठकले यस विषयमा छिनोफानो गर्न सकेन । पोलिटब्युरो बैठकले यसको निर्णय गर्ने जिम्मा सचिवालय बैठकलाई दिएको छ । सचिवालय बैठक केही दिनमा बस्नेछ ।

सरकारमा सहभागी हुने विषयमा पार्टीभित्र दुई धार देखिएको छ । एक समूह जानुपर्छ भन्ने पक्षमा छ भने अर्को जानु हुँदैन भन्ने पक्षमा छ ।सात दल र ३ स्वतन्त्र गरी कुल १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।