सहिदमार्ग स्तरोन्नतीका लागि २ अर्ब रुपैयाँको बजेट सुनिश्चित भएको छ ।

अर्थ मन्त्रालयले २ अर्बको स्रोत सहमति गर्दै बजेट सुनिश्चितता गरेको हो । अर्थ मन्त्रालयले मन्त्रालयले राष्ट्रिय योजना अयोगलाई स्रोत सुनिश्चिताबारे जानकारी गराउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बोधार्थ दिएको छ ।

पत्रमा ‘बहुवर्षीय ठेक्का प्रकृयाबाट निर्माण कार्य गर्न सहमतिका लागि अनुरोध भई आएको व्यवहोरा पेश हुँदा प्रचालित कानुन तथा स्वीकृत मापदण्डको प्रकृया पुरा गरी ताँहा मन्त्रालयको विनियोजित बजेटबाटै स्रोत व्यवस्थापन गर्ने गरी बढीमा रु. २ अर्बको सहमति प्रदान गरिएको’ उल्लेख छ ।

स्रोत सुनिश्चित भएपछि जिर्ण बन्दै गएको सहिद मार्गको स्तरोन्नती हुने हुने भएको छ । सहिद मार्ग जिर्ण बन्दै गएपछि आलोचना बढ्दै गएको थियो ।

नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य एवं रोल्पाकी नेतृ जयपुरी घर्तीले सहिदमार्गको स्तरोन्नतीका लागि स्रोत सुनिश्चित गर्न आफूले सबै पक्षसँग भेट गरेको बताईन् ।

उनले भनिन्,“बाहिर आलोचना बढेपछि यो सडक स्तरोन्नतीका लागि अर्थ मन्त्रीदेखि सबै पक्षसँग भेट गरेर ठोस पहल गरेँ । एउटा परिणाम आएको छ अब काम अगाडि बढ्ने भयो ।”

उनले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद समेत दिइन् । उनले भनिन्,“पछिल्लो केही दिन यता मैले सबैपक्षलाई दबाव दिएँ । विशेष गरि अर्थ मन्त्री ज्यूले स्रोत सुनिश्चिताका लागि सहयोग गर्नुभयो ।”

यो रकमले सहिद मार्गको घोराही-होलेरी-थबाङ-मैकोट ४८.६९ किलोमिटर सडक खण्ड स्तरोन्नती हुने छ । सिस्ने अनलाइनमा खबर छ ।