दाङ, ११ मंसिर ।
दाङमा प्रत्यक्षमा शून्य भएको नेकपा एमाले समानुपातिकमा भने पहिलो पार्टी भएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाका ३ वटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभा सदस्य गरेर ९ सदस्यमा एमाले शून्य भएको थियो । तर, एमाले समानुपातिकतर्फ भने खसेको दुई लाख ४८ हजार ९ सय ९ मतमध्ये २७ दशमलव १८ प्रतिशत मत प्राप्त गरेर पहिलो पार्टी बनेको छ ।
यसैगरी गठबन्धन गरेर एउटा प्रतिनिधिसभा सदस्यसहित ४ वटा प्रदेशसभा सदस्य जितेको नेपाली कांग्रेस २४ दशमलव ७० प्रतिशत मत प्राप्त गरेर दोस्रो पार्टी बन्न सफल भएको छ । कांग्रेसले दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा दीपक गिरी, ३(१)मा डिल्लीबहादुर चौधरी, २(१) राजु खनाल, २(२) प्रचण्डविक्रम न्यौपाने र १(२)मा अनुराग खड्काले निर्वाचन जितेका छन् ।
निर्वाचन आयोगका जिल्लामा पहिलो पार्टी बनेको नेकपा एमाले ७६ हजार ६ सय ४४ मत प्राप्त गरेको छ । आयोगका अनुसार दाङ निर्वाचन क्षेत्र नं. १ मा १७ हजार ९ सय ६९, क्षेत्र नं. २ मा २३ हजार ५ सय ६८ र क्षेत्र नं. ३ मा २६ हजार १ सय १७ मत प्राप्त गरेको छ । निर्वाचन क्षेत्र नं. १ र २ मा प्रमुख बनेको एमाले क्षेत्र नं. ३ मा भने दोस्रो छ ।
दोस्रो स्थानमा रहेको कांग्रेसले ६१ हजार ४ सय ३५ मत पाएको छ । यो गणना भएको सदर मतको २४ दशमलव ७० प्रतिशत हो । जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेस ३ नं.मा पहिलो बनेको छ भने क्षेत्र नं. १ र २ मा दोस्रो स्थानमा झरेको छ ।
निर्वाचन आयोग नेपालले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा कांग्रेस क्षेत्र नं. १ मा १५ हजार ६७, क्षेत्र नं. २ मा १९ हजार ७ सय ९१ र क्षेत्र नं. ३ मा २६ हजार ५ सय ७७ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३९ हजार ८ सय ९५ मत अर्थात् १६ दशमलव शून्य ४ प्रतिशत मत पाएको छ । जसअन्तर्गत क्षेत्र नं. १ मा ११ हजार ४ सय ५२, क्षेत्र नं. २ मा १३ हजार ३३ र क्षेत्र नं. ३ मा १५ हजार ४ सय १० मत प्राप्त गरेको हो ।











