काठमाडौँ, २५ साउन । उस्तै उद्देश्य, उद्यम र आर्थिक अवस्था भएका सदस्यहरूबीच सहकार्य गर्ने मूल उद्देश्यबाट बहिकिँदा नेपालका सहकारीले आर्थिक बेथिति मात्र बढाएका छैनन्, सर्वसाधारणका बचत पनि जोखिममा पारिदिएका छन् । काठमाडौंमा ओरिएन्टलदेखि सिभिल हुँदै गौतमश्री, ललितपुरमा देउराली र पूर्व धरानमा बराह सहकारीसम्मले सर्वसाधारणलाई चिन्तित बनाएका छन् । शृंखलाबद्ध विवादपछि पनि नीति–निर्माता प्रभावहीन छन् ।

सहकारीहरूले बैंकले जस्तै ग्राहक बनाएर चर्को ब्याजमा कारोबार गरिरहेका छन् । तर, उनीहरूले कति रकम उठाइरहेका छन्, के उद्देश्यमा कर्जा प्रवाह गरेका छन् र बचत कति सुरक्षित छ भनेर नियमन गर्ने र जिम्मेवारी लिने कुनै निकाय छैन । ‘स्वनियम’ मा चल्ने भनेका संस्थाले सहकारी अभियान कमजोर बनाइरहेका छन् ।

देशभर अहिले ३५ हजार २ सय ३९ सहकारी संस्थामा ८७ लाख ४९ हजार १ सय ३२ सदस्य आबद्ध छन् । सहकारी विभागका रजिस्ट्रार रुद्धप्रसाद पण्डितका अनुसार उनीहरूले ६ खर्ब ९४ अर्ब २५ करोड ७० लाख रुपैयाँ बचत गरेका छन् ।

सहकारीले सबै बचत लगानी गर्न पाउँदैनन्, १५ देखि २० प्रतिशत तरलता राख्नुपर्छ । तर, ६ खर्ब ९४ करोड बचत संकलन गरेका सहकारीले ८ खर्ब १९ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको सहकारी विभागको तथ्यांक छ । संकलित बचतभन्दा सवा खर्ब रुपैयाँ बढी लगानी कसरी हुन्छ भन्ने प्रश्नमा विभागका रजिस्ट्रार पण्डित भन्छन्, ‘सहकारी संस्थामा बचतबाहेक अरू रिजर्भ पनि हुन्छ । कोषको रकम पनि लगानी भएको हो ।’ सहकारीमा सेयरपुँजी, सदस्यता शुल्क तथा ब्याजबाट आएको रकम पनि लगानी भएको विभागको अनुमान मात्र हो । यसबारे विभागसँगै कुनै तथ्यांक छैन ।

सहकारीको आधारभूत नीति–नियमभन्दा फरकशैलीमा कारोबार भइरहेकाले बचतकर्ताको रकम फिर्ता गर्ने बलियो कानुनी आधारसमेत नरहेको विज्ञहरूको भनाइ छ । नाफा कमाउने उद्देश्यले सहकारी सञ्चालकहरूले घरजग्गालगायत अनुत्पादक क्षेत्रमा ठूलो मात्रामा कर्जा प्रवाह गरेका छन् । तर, सहकारीले कुल कर्जाको कम्तीमा ५१ प्रतिशत उत्पादन तथा आयमूलक व्यवसायमा प्रवाह गर्नुपर्ने विभागको निर्देशन छ । ‘उत्पादनकेन्द्रित क्षेत्र भन्नाले कृषि तथा वन पैदावार, पर्यटन, जलस्रोत, शिक्षा, स्वास्थ्य, सञ्चार, श्रम, सीप आदिमा आधारित व्यवसाय हो,’ गत फागुनमा विभागद्वारा जारी निर्देशनमा भनिएको छ । तर, यो निर्देशन कार्यान्वयन भए नभएको अनुगमन भएको छैन ।

पूर्वन्यायाधीश तथा सहकारीका जानकार गौरीबहादुर कार्की सहकारीको बचत अनुत्पादक क्षेत्रमा लगानी भएकाले जोखिम बढेको बताउँछन् । सहकारीको ९५ प्रतिशतभन्दा बढी लगानी घरजग्गा, सेयर, सवारी जस्ता अनुत्पादक क्षेत्रमा भएको उनको दाबी छ । कान्तिपुरबाट