प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर ५० वर्षीय मिनराज राना मगरको गाडी दुर्घटनामा ज्यान गएको छ । आफैले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको सरकारी गाडी आज स्वर्गद्वारी –२ बाङ्गेशालमा दुर्घटना हुँदा उनको ज्यान गएको हो ।
गाडी सडकबाट करिव ४०० मिटर तल खसेको छ । उपमेयर मगर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा वेलुका पौने ५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र घटनाको सम्पूर्ण विवरण संकलन गर्ने काम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











