काठमाडौँ, १९ साउन । सत्ता गठबन्धनका पाँच दलले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने कुरामा एकमत भएका छन् । गठबन्धनको समझदारीअनुसार मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति आज बिहीबार घोषणा गर्नेछ ।
निर्वाचन आयोगले मंसिर २ मा एकै चरणमा आम निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । निर्वाचनको तयारी गर्न न्यूनतम १ सय २० दिन चाहिने भन्दै आयोगले सरकारलाई मिति घोषणाका लागि ताकेता पनि गर्दै आएको थियो ।
सत्ता गठबन्धन दल उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्मै प्रतिनिधिसभा जीवित राख्नेमा पनि सहमत भएका छन् । यस विषयमा प्रतिपक्ष दल नेकपा एमाले सकारात्मक भएको छ ।











