सर्लाही, १३ पुस । प्रहरी भ्यानको ठक्करबाट व्यापारीको ज्यान गएपछि बयलवासका व्यापारीले प्रदर्शन जारी राखेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको छ ।

आज मङ्गलवार दिउँसो ३ बजेदेखि सुरु भएको निषेधाज्ञा भोलि बुधवार बेलुकी ७ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिए । निषेधाज्ञा अवधिभर बाहिर हिँडडुल गर्न, भेला हुन, सभा तथा अन्य गतिविधि गर्न प्रतिबन्ध लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय व्यापारीले आज बिहानैदेखि उनीहरूले टायर बालेर प्रदर्शन गरेका छन् भने प्रदर्शनलाई रोक्ने क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडपसमेत भएको छ । पीडित पक्षले घटनाको छानबिन हुनुपर्ने र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको हो । प्रदर्शनमा निस्किएका स्थानीय व्यापारीमाथि प्रहरीले १२ भन्दा धेरै अश्रुग्यासको सेल प्रहार गरेको छ ।

झडपमा प्रदर्शनकारीतर्फ एक जनालाई गोली लागेको छ भने केही घाइते भएका छन् । यस्तै १५ भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् । आइतवार राति इलाका प्रहरी कार्यालय बयलवासको जीपले स्थानीय व्यापारी ३० वर्षीय रामकुमार महतोलाई ठक्कर दिँदा ज्यान गएको थियो ।