शान्त कुमार बुढा मगर
राजपुर, ३ मंसिर । दाङको भारतसंँग सिमा जोडिएको नाका क्षेत्रमा अझै पनि टेलिफोन सेवा पुग्न नसकेपनि इन्टरनेट सेवासंँग भने जोडिएको छ । जिल्लाको विकट क्षेत्र मानिने राजपुर गाउँपालिकाको वडा नं. ७ को शिवसक्ति मावि भौवानाकामा बिहिवार इन्टरनेट जोडिएसँगै उक्त क्षेत्र इन्टरनेट संजालमा जोडिएको हो ।
सूचना तथा संचार क्षेत्रबाट पूर्ण रुपमा टाढा रहेको यस क्षेत्रमा बिद्यालयमा इन्टरनेट पुग्दा स्थानीयसंगै शिक्षक बिद्यार्थीहरु हर्षित भएका छन् । इन्टरनेट जडानसंगै बिद्यालयको सिकाइ प्रक्रियामा अब प्रविधिमैत्री बन्ने विद्यालयका प्रधानाध्यापक लिलाधर विकले बताए ।
‘विश्व इन्टरनेट संजालमा छन् 5G/6G को चरणमा रहेपनि हामी इन्टरनेटको दुनियाँ त पर दैनिक समाचारसम्म सुन्न सक्दैनौ । कार्यालयको काम या आफन्त जनसंग सम्पर्क गर्न पनि कि भारतीय सीम या १/२ घण्टा उकालो चढ्नु हाम्रो बाध्यता अब भने हराएको छ । हामी पनि सूचना र प्रविधिसंग जोडिन पाएका छौँ हाम्रो बिद्यालय पनि अब प्रबिधिमा आधारित भएर पठनपाठन गर्न सम्भव भएको छ ।’ उनले भने ।
नेपाल दुरसंचार प्राधिकरणको योजना अनुसार दाङको सबै माध्यमिक बिद्यालयमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने कार्यक्रम अन्तर्गत यो सम्भव भएको बिद्यालयका अध्यक्ष श्यामबहादुर झाक्रीले बताए। उनका अनुसार प्राधिकरणको यस कार्यका लागि ठेक्का लिएको इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइन्डस नेटवर्क नारायणगढले बाँकेको राप्ती सोनारी गाउँपालिकाको कुसुम हुँदै दाङको राजपुर गाउपालिकाको भौवानाकासम्म इन्टरनेट पुर्यएको हो । तर बिद्यालयमा इन्टरनेट पुगे पनि दिगो नहुन सक्ने कुरामा चिन्तित भएको अध्यक्षले बताए ।
बाँकेको राप्ती सिनारी गाउँपालिका देखि राजपुरको नाकासम्म पुग्न १६ किलोमिटर जंगलको बाटो पर्ने र त्यस क्षेत्रमा पोल नहुदा रुखको सहारामा १६ किमि फाइबर तार लगिएकोले गर्मीमा डढेलोले बर्षामा पहिरो र रुख ढल्ने समस्याले फाइबर चुडिने जल्ने समस्याले इन्टरनेट निरन्तर हुन नसक्नेमा आफू चिन्तित भएको अध्यक्षको भनाइ छ । ‘यस समस्याको समाधानको लागि सम्बन्धित निकायले ले बेलैमा ध्यान दिनु पर्नछ।’ उनले सुझाव दिए। बिद्यालयमा इन्टरनेट पुगे पनि स्थानीयवासीले भने घरघरमा इन्टरनेट जोड्न अझै समय लाग्ने टेकमाइन्डस नेटवर्कले बताएको छ । पहिलो चरणमा बिद्यालय, स्वास्थ्य संस्था र वडामा बिस्तार गर्ने आफूहरुको जिम्मा पाएकोले यी क्षेत्रमा बिस्तार पछि मात्रै स्थानीय ग्राहकलाई इन्टरनेट प्रदान गरिने टेकमाइन्डसले जनाएको छ ।
नाका क्षेत्रफलकै पहिलो मावि भौवानाकामा २०६९ साल देखि कक्षा ६ देखि ८ सम्म कम्प्युटर शिक्षा पढाउँदै आए पनि इन्टरनेट नहुदा सुचना र प्रविधि तथा सामाजिक संजाल बारे अनविज्ञ रहेका छन् ।











