इन्द्रेणी संवाददाता
काठमाडौं, २७ भदौ । प्रतिनिधि सभाको बैठक मङ्गलवारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले संसद् बैठक आउँदो मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
यसअघि गएका दुई वटा बैठकमा पनि एमालेका सांसदहरूले विरोध गर्दै आएका छन् । एमालेले कारवाही गरेको १४ संसादमाथि समयमा कारवाहीको सूचना ननिकाले र एमालेलाई अरु दलसम्मान व्यवहार नगरेको भन्दै एमालेका सांसदहरुले बैठक अवरोध गर्दै आएका छन् ।
यसैबीच सभामुख अग्नीप्रसाद सापकोटाले भोलि सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको संयुक्त बैठक बोलाएका छन् । बैठक दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसदहरुको बैठकमा अवरोध र नाराबाजी कायमै राखेपछि त्यस विषयमा छलफल गरी सहमति गर्ने उद्देश्यसाथ बैठक आव्हान गरिएको बताइएको छ ।











