पर्वत, १८ भदौ । अविरल वर्षातका कारण पर्वतको विभिन्न ठाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । पहिरोमा एक अझै वेपत्ता छन् ।
कुश्मा नगरपालिका ३ दुर्लुङमा गएको पहिरोले माधव शर्माको घर पुरिँदा उहाँकी ७५ वर्षीया आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षीया भगवती, दुई छोरीहरू १६ वर्षीया विमला र ११ वर्षीया विनिताका साथै नौ ९ वर्षीय छोरा विनोदको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका ७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको ज्यान गएको छ ।
यस्तै कुश्मा नगरपालिका ११ पकुवा ताल्चेमा आज बिहान खसेको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका तीन वर्षीय छोरा प्रयुशको मृत्यु भएको छ ।पहिरोमा मायाकुमारीकी सासू डल्ली पाध्या पौडेल बेपत्ता छन् ।
त्यस्तै मोदी गाउँपालिका ५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षीया फूलमाया थापाको मृत्यु भएको छ ।पर्वतमा अहिले विद्युत् सेवा बन्द भएको छ भने टेलिफोन सेवा पनि प्रभावित भएको छ ।











