इन्द्रेणी संवाददाता
दाङ, २४ साउन । दाङको तुलसीपुरमा “तपाइँको मास्क खोइ” अभियानलाई पुनः निरन्तरता दिइएको छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाको अगुवाइमा उक्त कार्यक्रम गरिएको हो ।
तुलसीपुर उपमहागरपालिका, तुलसीपुर उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यलय तुलसीपुर, सस्शत्र प्रहरी बल बेस क्याम्प तुलसीपुर, मधेश मानव अधिकार संघ, रिपोर्टस क्लब दाङ लगायतको सहकार्यमा मास्क वितरण कार्यक्रम गरिएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मास्क अभियान सुरु गरिएको छ ।
त्यस्तै तुलसीपुरमा शुरु भएको मास्क अभियानले तुलसीपुर उद्योग वाणिज्य संघ चोक देखि तुलसीपुर बजार क्षेत्र, बसपार्क, सार्वजनिक यातायातमा सवार यात्रुहरु र मास्क नलगाएर खुलेयाम हिड्डुल गर्ने पैदलयात्रुलाई मास्क वितरण गरेको छ । साथै ‘म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु’, ‘म जिम्मेवार नेपाली’ लगायतका नारा पनि अभियानका लागि स्वास्थ्य मन्त्रालयले तय गरेको छ ।
मास्क वितरणका अवसरमा तुलसीपुर उद्योग वााणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले सबैलाई अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरेका थिए । साथै उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्दै यो अभियान निरन्तर चल्ने बताए ।











