काठमाडौं, ८ पुस । शीर्ष नेताहरुको व्यक्तित्वको टकराव, कार्यशैलीगत मतभिन्नता र पदीय आकांक्षाको अभिलाषा पूरा नहुँदा साढे दुई वर्षअघि एकीकृत नेकपा मंगलबारबाट स्पष्ट रुपमा दुई टुक्रा भएको छ ।
स्थिर सरकार बनाउने वाचासहित २०७४ सालको चुनावबाट अत्यधिक मत पाएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एकताको कामसमेत नसकिँदै फुटेको हो ।
ओली समूहले मंगलबार बालुवाटारमा केन्द्रीय सदस्यहरुको भेला गरेर आफ्नो समूह आधिकारिक भएको दाबी गरेको छ । दाहाल–नेपाल समूहले अध्यक्षसमेत रहेका ओलीलाई कारबाही गर्दै बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले मूलधार भएको जिकिर गरेको छ । अब दुवै पक्षबाट निर्वाचन आयोगमा परेको आधिकारिकता–दाबीको निरुपण नहुँदासम्म ओली र दाहाल–नेपाल नेतृत्वका दुइटा नेकपा पार्टी रहनेछन् ।
ओली पक्ष बैठक
११९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन
श्रेष्ठलाई हटाएर ज्ञवाली प्रवक्ता
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले केन्द्रीय कमिटी सदस्यको संख्या विस्तार गरेर १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । पार्टीको एकता महाधिवेशन २०७८ मंसिर २ मा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले ५ सय ५६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै अहिलेको ४ सय ४५ सदस्यीय केन्द्रीय कमिटीलाई १ हजार ३ सदस्यीय बनाएको हो । अरू १ सय ९६ सदस्य संख्या रिक्त रहेको र पूर्ति गर्दै जाने ओली समूहको भनाइ छ ।
पार्टी एकीकरणका बेला निर्वाचन आयोगमा नाम बुझाइएका ४ सय ४७ मध्ये १ सय २० जना केन्द्रीय सदस्य बैठकमा सहभागी थिए । प्रधानमन्त्री ओलीले सुरुमा थप गरिएका केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ गराएका थिए । ‘तदर्थ कमिटीका रूपमा रहेको पार्टी कमिटीको वैधानिकता समाप्त भएकाले त्यसलाई आयोजक कमिटीका रूपमा पुनर्गठन गरेर स्पष्ट बहुमतको केन्द्रीय कमिटीले महत्त्वपूर्ण निर्णय गरेको छ,’ केन्द्रीय सदस्य राजेन्द्र गौतमले भने, ‘१ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ जना आज मनोनीत भए, समितिमा १ सय २० जना पहिलेकै थियौं, यही स्पष्ट बहुमत सदस्य रहेको कमिटीले महाधिवेशनको मिति तोकेको हो ।’
मंगलबार नै ओलीपक्षीय नेकपाको प्रवक्ता बनेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले यसअघि ४ जना केन्द्रीय कमिटी सदस्य थप्दा अपनाएको प्रक्रियाअनुसार नै कमिटी विस्तार गरिएको बताए । उनले पार्टीको पहिलो वरीयताको अध्यक्ष, महासचिव र पार्टी बैठकको माइन्युट भएकाले आफूहरूको बैठक र बैठकले गरेको निर्णय वैधानिक भएको जिकिर गरे ।
‘यसअघि निर्वाचन आयोगमा बुझाइएको केन्द्रीय सदस्यको जुन संख्या छ, त्यो संख्या पनि मनोनयनबाट गठन भएको हो, कुनै निर्वाचित होइन,’ प्रवक्ता ज्ञवालीले भने, ‘साथीहरूलाई थाहै छ, बीचमा हामीले केन्द्रीय कमिटीमा सदस्य थप गरेका थियौं । जुन बाटोबाट त्यतिखेर थप गरियो, अहिले त्यही बाटोबाट विस्तार गरिएको हो ।’
दाहाल–नेपाल पक्ष बैठक
ओलीलाई हटाएर उनको ठाउँमा नेपाल अध्यक्ष
दुवै अध्यक्षको वरीयता समान
नेकपाको पुष्पकमल दाहाल–माधव नेपालसहितको बहुमत सदस्य सम्मिलित केन्द्रीय कमिटी बैठकले पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीलाई निष्कासन गरेको छ । मंगलबार बबरमहलमा बसेको बैठकले ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले अध्यक्ष पुष्पकमल दाहालसँग समान वरीयताको प्रबन्ध गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने स्थायी कमिटीको निर्णय अनुमोदन गरेको छ ।
नेकपाको धारा ६० ले बहुमतको निर्णयलाई नै पार्टी निर्णय मान्ने भएकाले दाहाल–नेपाल समूहले गरेको यो निर्णय नै पार्टीको आधिकारिक निर्णय हुने प्रस्टीकरण दाहाल–नेपाल समूहका नेताहरूको छ । २०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी एकीकरण भएर बनेको नेकपाले दुई अध्यक्षको व्यवस्था गरेको थियो । नेकपाको विधानमा पनि पार्टी महाधिवेशन नहुँदासम्म दुई अध्यक्ष रहने व्यवस्था छ । यही विधानअनुसार नेता नेपाललाई अध्यक्ष बनाइएको हो कान्तिपुरमा खबर छ। नेपाल २०५१ देखि २०६४ सम्म तत्कालीन एमालेको नेतृत्वमा थिए । त्यसयता उनी पार्टी राजनीतिको किनारामै छुटेका थिए । यद्यपि तत्कालीन एमालेको पनि तल्लो कमिटीसम्म राम्रो पकड भएकाले नेपालको निर्णय नेकपामा निर्णायक हुँदै आएको थियो । पार्टीको त्रिकोणात्मक शक्ति सन्तुलनमा यसपालि नेपाल र दाहालको मत मिलेको हो ।











