शालिग्राम नेपाल
चितवन, ८ असोज । निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव वस्तीमा पसेको छ । तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि भरतपुर महानगरपालिकाको वडा नं। २६ मा नारायणी नदी पसेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टाईले बिहीबार दिउँसोबाट नारायणी नदी वस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा राखिएको जानकारी दिए । नदीले खतराको तह पार गरेको छ त्यसको असर नदीको तटीय क्षेत्रमा परेको छ,’ प्रमुख जिल्ला अधिकारी भट्टराइले भने ।
त्यस्तै, भरतपुर महानगरपालिकाको वडा नं। २८ मेघौली क्षेत्र, वडा नं। १६ मंगलपुर क्षेत्रमा बाढी पस्ने खतरा भएपछि वस्तीलाई स्थानान्तरण गरेको भट्टराइले जानकारी दिए ।
जिल्ला भएर बग्ने नारायणी, रापती, माडीको रिउलगायतको नदी र खोलामा बाढी आएको छ । बिहीबार साँझसम्म मानवीय क्षति नभए पनि घर डुबानमा परेको र भौतिक क्षति भने भएको उनले बताए । भौतिक क्षतिको विषयमा विवरण संकलन कार्य जारी रहेको उनले बताए ।
यसैगरी, राप्ती नदीमा बाढी आएपछि पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको छ । नदीको किनार क्षेत्रमा बाढी पसेर होटलहरु डुबानमा परेको उनले जानकारी दिए गोरखापत्र अनलाइनमा खबर छ ।











