काठमाडौं, १० भदौ । त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणका कारण गत चैतमा स्थगित भएका परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ ।
विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय पुगेको हो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले स्थगित परीक्षा लिने विषयमा आफूहरू अन्तिम निर्णयमा पुगेको बताए । तर अहिलेकै अवस्थामा विद्यार्थीको लिखित परीक्षा गर्न नसकिने निष्कर्षमा विश्वविद्यालयका पदाधिकारीहरू पुगेका छन् ।
लिखित सम्भव नभएको अवस्थामा विद्यार्थीको व्यक्तिगत उपस्थिति या भर्चुअल विधिबाट परीक्षा गरी निकास निकालिने तयारी छ । परीक्षा स्थगित भएपछि सम्पर्कविहीन भएका विद्यार्थीको खोजी सुरु गर्ने पनि त्रिविले जनाएको छ ।











