इन्द्रेणी संवाददाता
दाङ, १ भदौ । प्रदेश नं. ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्ष्ँक रविन्द्र धानुकले मातहतका १७ ओटा कार्यालयहरुसँग कार्यसम्पादनमा सम्झौता गरेका छन् ।
आइतवार प्रहरी प्रमुख धानुकले प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय १२ तथा नेपाल प्रहरी स्कूल घोराही दाङसमेत गरी १७ ओटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुसंँग सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा मातहत कार्यालय प्रमुखहरुलाई प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुखबीच साउन २५ गते भएको कार्यसम्पादन सम्झौता तथा प्रदेश प्रहरी प्रमुख र मातहत जिल्ला स्तरसम्मका कार्यालय प्रमुखहरूसंँग कार्यसम्पादन सम्झौता अनुरुप उल्लेखित लक्ष्य पूरा गर्न प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्य योजनाका साथ आफू र मातहत प्रहरी इकाइ तथा कर्मचारीहरुलाई पूर्ण लगनशील र प्रतिवद्धताका साथ परिचालन गर्न धानुकले निर्देशन दिए ।
साथै वर्षायामको समय रहेकोले प्राकृतिक रुपमा आइपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्रीसहित जनशक्तिलाई तयारी हालतमा राख्न समेत निर्देशन दिएका छन् भने कोभिड १९ महामारीको समय रहेकोले सदैव अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउनको लागि मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।











