डोटी, २७ साउन । डोटीमा घर भत्किदा एकै घरका चार जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका वडा नं. १ बाँझककानी खलगडामा घर भत्किदा एकै परिवारका चार जनाको ज्यान गएको हो भने पाँच जना घाइते भएका छन् ।
गएराति स्थानीय लोगे विकको घर भत्किदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु ८ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।
घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् ।
घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका सदरमुकाम पठाइएको प्रहरीले जनाएको छ । घटना गएराति अन्दाजी १ बजेतिरभएको प्रहरीले जनाएको छ ।











