काठमाडौं, २६ असार । भ्रामक मात्र होइन, निकृष्ट सामग्री उत्पादन गरिरहेका भारतीय न्युज च्यानलको प्रसारण नेपालमा रोकिएको छ । नेपालका अधिकांश केबल तथा डिटिएच अपरेटरले दूरदर्शनबाहेक अन्य भारतीय न्युज च्यानल प्रसारणमा रोक लगाएको बताएका छन् । लिम्पियाधुरा, लिपुलेक विवाद बढेसँगै भारतीय मिडियाले लगातार नेपालविरुद्ध विषवमन गर्दैै आएका छन् ।
सरकारको निर्देशनमा होइन, सर्वसाधारणको आग्रहबमोजिम ती च्यानल बन्द गरिएको डिसहोमका प्रबन्ध–निर्देशक सुदीप आचार्यले जानकारी दिए । ‘भारतीय च्यानलहरूको निकृष्ट सामग्रीप्रति ग्राहकहरूको विरोध लामो समयदेखि थियो, ती च्यानल बन्द गर्नुपर्यो भन्ने जनदबाब थियो,’ आचार्यले भने, हामीले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा यस सम्बन्धमा निर्देशन पनि मागेका थियौँ, तर मन्त्रालयले आधिकारिक रूपमा केही पनि प्रतिक्रिया दिएन । तर, पछिल्ला दिनमा झन् आपत्तिजनक सामग्री प्रसारण भएपछि केबल टेलिभिजन अपरेटर र डिटिएचहरूले सल्लाह गरी ती च्यानल बन्द गर्यौँ ।’ भारतबाट प्रसारण हुने न्युज च्यानलबाहेक अन्य टेलिभिजनको प्रसारणमा भने रोक लगाइएको छैन ।
टेलिभिजन सेटमा च्यानल बन्द भए पनि इन्टरनेटबाट ती च्यानल आउने बाटो भने रोकिएको छैन । युट्युब, फेसबुक तथा ट्विटरलगायत सामाजिक सञ्जालमा आउने भारतीय टेलिभिजनका कन्टेन्ट बन्द गर्न सरकारले नै निर्णय गर्नुपर्ने पनि आचार्यले बताए । ‘सामाजिक सञ्जालमा जे–जे कन्टेन्ट आएका छन्, ती टेलिभिजनबाट होइन, सामाजिक सञ्जालबाटै आएका हुन्, त्यसो हुँदा भारतीय न्युज च्यानलका ती कन्टेन्ट पनि बन्द गर्नुपर्छ,’ उनले भने, ‘सरकारले चाहेमा त्यसो गर्न सक्छ ।’
नेपालका प्रधानमन्त्री, नेपाली जनता, राजनीतिक दलका विषयमा अनर्गल प्रचार गर्ने भारतीय सञ्चारमाध्यमप्रति नेपाली समाजमा रोष बढेको थियो । सरकारले पनि नेपाली प्रधानमन्त्री र चिनियाँ राजदूतको विषयमा भारतीय च्यानलहरूले बनाएको आपत्तिजनक कथाबारे राजनीतिक र कानुनी उपचार खोज्ने जनाएको छ । सरकारका प्रवक्ता डा। युवराज खतिवडाले बिहीबार पत्रकारहरूसँग भने, ‘दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकारले भत्र्सना गर्छ, तथा कानुनी तथा राजनीतिक उपचार खोज्नेछ ।’
विदेशी च्यानल नेपालमा प्रसारण गराउन डिटिएच तथा केबुल टिभी अपरेटरले वार्षिक करिब एक अर्ब रुपैयाँ तिर्नुपर्ने डिसहोमका प्रबन्ध–निर्देशक सुदीप आचार्यले बताए । यद्यपि, अधिकांश भारतीय समाचार च्यानललाई भने पैसा तिर्नुपर्दैन । ‘मनोरञ्जन र खेल च्यानलका लागि ठूलो रकम भारत जान्छ,’ आचार्य भन्छन्, ‘ती च्यानलको प्रसारण अधिकार किन्दा न्युज च्यानल प्याकेजमै आउने गरेका छन् ।’ नयाँ पत्रिकाबाट











