काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन ९एमसीसी० बारे अध्ययन गर्न गठित कार्यदलले इन्डोप्यासिक स्ट्राटेजी ९हिन्द प्रशान्त रणनीति० कै अंग भएको निष्कर्ष निकालेको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा वरिष्ठ नेता झलनाथ खनाल, नेताद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको समितिले तयार पारेको प्रतिवेदनमा एमसीसी कम्प्याक्टका ११ बुँदा संशोधन गर्न सुझाव दिइएको छ ।
प्रतिवेदनको बुँदा नम्बर १४।६ मा भनिएको छ, ‘अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा रणनीतिको एउटा महत्वपूर्ण बुँदाको रुपमा हिन्द प्रशान्त रणनीति ल्याइएको देखिन्छ भने यी सबै रणनीतिको अंगको रुपमा एमसीसी अन्तर्गतको कार्यक्रम सञ्चालन गरिएको देखिन्छ ।’
‘एमसीसीको कार्यक्रम आर्थिक योजनासंग सम्बन्धित देखिए पनि यो अमेरिकी सरकारको सुरक्षा लक्ष्य र कार्यक्रमसँग घनिष्ट रुपमा जोडिएको देखिन्छ’ कार्यदलले प्रतिवेदनमा भनेको छ ।
कार्यदलले एमसीसी अन्तर्गत नेपाललाई प्राप्त हुने अनुदान अमेरिकी सामरिक र रणनीतिक लक्ष्य अन्तर्गत हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित नभएको र नहुने कुरा सुनिश्चित हुनेगरी नेपाल र अमेरिकाका बीच औपचारिक पत्राचारद्वारा प्रष्ट गर्न सुझाव दिएको छ ।
‘कुनै पनि सैनिक वा राजनीतिक शक्ति गठबन्धनमा सामेल हुने वा कसैको सुरक्षा छाता अन्तर्गत रहने कुरा नेपालको संविधान तथा नेपाल कम्युनिस्ट पार्टीको नीति र सिद्धान्तअनुसार अमान्य छ’ प्रतिवेदनमा भनिएको छ ।
कार्यदलको १६ बुँदे सुझावमा एमसीसी कम्प्याक्ट जस्ताको त्यस्तै पारित गर्न नहुने उल्लेख छ । उसले बुँदागत रुपमा संशोधन गर्नुपर्ने बुँदाबारे उल्लेख गरेको छ ।











