केशरमान बुढाथोकी
कोरोना भाइरसले विश्वभर महामारी छाएर आक्रान्त गराइरहेको बेला दाङ घोराहीका एक युवा व्यावसायीले घर भाडामा छुट दिने घोषणा गरेका छन् ।
केहि दिन अगाडी घोराही कै एक सरकारी कर्मचारीले कोरोना सर्ने भन्दै आफ्नो घरमा बस्ने नर्सलाई घरबाट निकालेको घटना सेलाउन नपाउदै युवा व्यावसायी गिरीले यस्तो घोषणा गरि मानवीयता प्रस्तुत गरेका हुन् ।
कोरोना नै कारण विश्वको अर्थतन्त्र संकटमा परिरहेका बेला घरधनी घोराही १५ निवासी कृष्ण गिरीले गरिखाने वर्गले व्यापार व्यावसाय गर्न नसकेपछि भाडा तिर्न धौ धौ हुने भन्दै अहिलेलाई एक महिनाको भाडामा छुट दिने भएका हुन् ।
घोराही उपमहानगरपालिका १५ का व्यावसायी गिरीले घोराही उपमहानगरपालिका १५ तुलसीपुर चोक नजिकैको तीनतले घर र घोराही १५ कै रतनपुरमा भएको घरको चैत्र महिनाको भाडा नलिने बताएका छन् ।
विश्वमै कोरोनाले आक्रान्त बनाइ रहेकाबेला नेपालमा छिटफुट रुपमा संक्रमण देखिएकाले सबै नेपालीहरुलाई सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।
गिरीले आफ्ना दुइवटा घर गरेर मासिक एक लाख भाडा बुझ्ने गरेको बताएका छन् । ‘संकटका बेला एकले अर्कालाई साथ, सहयोग र सहुलियत दिइएन भने मानवीयता नै नहुने बताउदै आफुले यस्तो निर्णय गरेको व्यावसायी गिरीले बताए ।
दाङमा कम्तिमा एक महिनाको भाडा मिनाहा गरेर आफुले राज्यलाई नै सहयोग गरेको भन्दै गिरीले कोरोना भाइरस जस्तो महामारी बाट बच्न सबैले राज्यलाई सहयोग गर्नुपर्ने व्यावसायी गिरीको भनाइ थियो ।











