दाङ, २९ फागुन । बढ्दो गर्मीसँगै वनमा डढेलोको जाखिम बढ्ने भएकाले यसको नियन्त्रणका लागि दाङमा ‘शून्य वन डढेलो महाअभियान’ शुरू गरिएको छ । डिभिजन वन कार्यालय, दाङले जिल्लाका डढेलोको उच्च जोखिममा रहेका वनको नक्सांकन गरेर यो अभियान शुरू गरेको हो ।

Fire map Daपहिलो चरणमा डिभिजन वन कार्यालय दाङअन्तर्गतका कमिरेचौर, सुनपुर र अम्बिकेश्वरी सब–डिभिजन वन कार्यालय अन्तर्गत घोराही, नाराणपुर र बिजौरी, तुलसीपुर सब–डिभिजन वन कार्यालय अन्तर्गत बिजौरीमा र दंगीशरणका साथै पुरन्धारा सब–डिभिजन वन कार्यालय अन्तर्गत हापुर पुरन्धारामा वन डढेलो जोखिम पहिचान तथा नक्सांकन गरी अभियान शुरू गरिएको डिभिजन वन कार्यालय, दाङका कार्यालय प्रमुख डिभिजनल वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिए । पहिलो चरणको कार्यक्रम अन्र्तगत सो क्षेत्रका सबै वन कर्मचारी, सामुदायिक वन समूह र सञ्जालका प्रमुखहरूसँग छलफल गरिएको छ ।

शून्य वन डढेलो महाअभियानको पहिलो चरणमा डिभिजन वन कार्यालय दाङ मातहतका ८ ओटा, सब–डिभिजन वन कार्यालयलाई तीनओटा जोखिम क्षेत्रमा विभाजन गरी ती क्षेत्रमा पर्ने सवै वन समूहलाई वन डढेलोको संवेदनशीलताका आधारमा जोखिम क्षेत्र पहिचान गरी वन डढेलो जोखिम नक्सा तयार गरिएको छ ।

जोखिमलाई उच्च, मध्यम र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ, जसअन्र्तगत उच्च जोखिममा ८३ ओटा वन समूह परेका छन् । त्यस्तै, मध्यम खालको जोखिममा ४६ र सामान्य जोखिम क्षेत्रमा ४४ ओटा वन समूह रहेको प्रमुख डिभिजनल वन अधिकृत ज्ञवालीले बताए ।

यी वन समूहमध्ये ९२ ओटा वन समूह वन डढेलो नियन्त्रणका लागि सक्रिय छन् भने ८१ ओटा वन समूह वन डढेलो नियन्त्रणका लागि निष्क्रिय देखिएको अध्ययनले देखाएको छ । बबई गाउँपालिका र घोराही उपमहानगरपालिका अन्तर्गत रहेका अधिकांश सामुदायिक वन र केही राष्ट्रिय वनको क्षेत्र वन डढेलोको उच्च जोखिममा छन् । त्यस्तै बंगलाचुली र दंगीशरणका गाउँपालिका अन्तर्गतका वन क्षेत्र मध्यम जोखिममाका साथै तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाका नारायणपुर र हापुर क्षेत्र वन डढेलोको न्यून जोखिममा छन् ।