राजेश जीसी
प्यूठान, २२ माघ । स्वर्गद्वारी चाल्नेटार विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत परामर्शदाता कम्पनी रियल प्याथ इन्जिनीयरिङ कन्सल्ट्यान्ट, ललितपुरको टोलीले बेलहरामा विमानस्थल निर्माणका लागि डीपीआरको काम थालेको हो । ‘ड्रोन’मार्फत फिल्ड सर्भेको काम सम्पन्न भएको कम्पनीले बताएको छ ।
फिल्ड सर्भेको काम सकेको ४ महीनाभित्र डीपीआर तयार हुने कम्पनीका इन्जिनीयर उत्सव गौतमले जानकारी दिए । यसअघि प्याक्ट कन्सल्ट्यान्ट प्रालिले प्रस्तावित विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो ।
मुख्यगरी स्वर्गद्वारी आउने पर्यटकलाई लक्षित गरी विमानस्थलको निर्माणको काम अघि बढेको हो । यससँगै प्युठान र रोल्पाका जनतालाई हवाई यातायातको पहुँच पुग्ने स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकायले बताए । ‘डीपीआर तयार भएपछि विमानस्थल निर्माणको पहल गर्नेछौं,’ उनले भने । विशेषगरी स्वर्गद्वारी आउने पर्यटक र रोल्पाका बासिन्दालाई लक्षित गरी विमानस्थल निर्माण अघि बढाइएको उनको भनाइ छ ।
विमानस्थल निर्माणले स्वर्गद्वारीको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने नगर प्रमुख रोकाले बताए । ‘विमानस्थलको यसअघि वातावरणीय प्रभाव मूल्यांकन भएको छ,’ उनले भने, ‘अहिले डीपीआरका लागि फिल्ड सर्भे सकिएको छ ।’ विमानस्थल निर्माण सम्पन्न भए स्वर्गद्वारीमा स्वदेशी तथा विदेशी पर्यटक सहज रूपमा आउन सक्ने उनले बताए ।
लामो समयदेखि चर्चामा रहेको स्वर्गद्वारी चल्नेटार विमानस्थल निर्माणको प्रक्रिया अघि बढेपछि जिल्लावासी उत्साहित छन् । आयोजनाको प्रस्तावित लागत ७७ करोड रुपैयाँ छ । आयोजनाले जिल्लालाई काठमाडौं, भैरहवा, धनगढी, नेपालगञ्ज, पोखरा, भरतपुर, विराटनगरका साथै अन्य पहाडी जिल्लामा हवाई सम्पर्कको सुविधा उपलब्ध हुनेछ ।
विमानस्थलका लागि ६० दशमलव ७९ हेक्टर क्षेत्रफल आवश्यक पर्नेछ । आयोजना निर्माणले चाल्नेटारका १२ घरधुरी विस्थापित हुनेछन् । विमानस्थल बनाउँदा ५५ दशमलव १८ हेक्टर सामुदायिक वन अधिग्रहण हुने भएकोे छ । अभियान











