काठमाडौं, २२ माघ । कुखुराको मासुको भाउ घटेको निहुँमा ह्याचरी व्यवसायीले चल्ला र अन्डा निर्मम रूपमा नष्ट गरेका छन् । डेढ महिनाको बीचमा उनीहरूले ३० लाख चल्ला मारेका छन् । मारिएका ३० लाख चल्लाको मूल्य मात्र करिब १५ करोड हुन आउँछ । त्यस्तै, चल्ला कोरल्न राखिएका ४५ करोड मूल्यबराबरका करिब ३ करोड ५० लाख अन्डासमेत नष्ट गरेका छन् ।
त्यति मात्रै होइन, ह्याचरी व्यवसायीले आफ्नै उद्योगमा आफैँले १० दिन हडताल गरी चल्ला र मासु उत्पादन बन्द गरेका थिए । उत्पादन लागतभन्दा सस्तोमा चल्ला बेच्न बाध्य हुनुपरेको भन्दै ह्याचरी उद्योगीले २९ मंसिरदेखि ८ पुससम्म हडताल गरेका थिए ।
१० दिन उनीहरूले गरेको आन्दोलनका कारण अहिले कुखुराको मासुको मूल्य ४ सय २० रुपैयाँ प्रतिकिलो पुगेको छ । गएको डेढ महिनामा कुखुराको मासुको मूल्य ५० प्रतिशतले बढेको हो । मंसिरको अन्तिममा कुखुराको मासु प्रतिकिलो २ सय ८० रुपैयाँ थियो । त्यसैगरी, अन्डाको भाउ प्रतिगोटा १५ रुपैयाँमा किनबेच भयो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगीले मंसिर २९ देखि ८ पुससम्म देशभर चल्ला उत्पादन बन्द गरेका थिए । यसबीचमा चल्ला खाल्डोमा हालेर नष्ट गरिएको थियो । केही फार्ममा जबर्जस्ती घुसेर चल्ला बसेको क्रेटमा तातोपानी खन्याएर मारिएको थियो । यसरी भएका चल्ला नष्ट गर्ने र १० दिन उत्पादन नगर्ने संघको निर्णयले देशभर चल्लाको हाकाकार भयो र १० रुपैयाँ प्रतिगोटाको चल्लाको भाउ डेढ महिनामा ६० रुपैयाँ पुग्यो । त्यसभन्दा अघि देशभर रहेका करिब ३ सय ह्याचरी उद्योगले प्रतिसाता ४५ लाख चल्ला उत्पादन गर्दै आएका थिए । बजार माग भने ३५ लाख चल्लाको मात्र थियो ।
नेपाल ह्याचरी संघका अध्यक्ष टीकाराम पोखरेलले क्रमशः बजार मूल्य सुधार हुँदै गएको बताए । ‘चल्लाको लागत ५५ रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘तर, हामी १०–१५ रुपैयाँमा बेच्न बाध्य थियौँ ।’ पुस पहिलो सातासम्म उत्पादन नगरेपछि चल्लाको मूल्यमा सुधार भई २० रुपैयाँ पुगेको थियो । पुस अन्तिम साता ३० रुपैयाँ पुगेको चल्लाको भाउ माघ लागेपछि ४० रुपैयाँमा बिक्री हुन थाल्यो । बिहीबारसम्म ४० रुपैयाँ प्रतिगोटा रहेको चल्लाको भाउ आइतबारबाट बढाएर ६० रुपैयाँ पुर्याइएको छ नयाँ पत्रिकामा खबर छ।











