काठमाडौं, २ भदौ। नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ ।
नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको पाइएको चितवन प्रहरीले जनाएको छ । होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी किनेर लगेका छन् । सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको छ ।
यसैबीच पुडासैनीको आत्महत्या गर्न दुरुत्सान गरेको आरोपमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेपछि उनका सर्मथकले दैनिकजसो प्रर्दशन गर्ने र उर्छिखंल गतिविधि हुन थालेपछि आज चितवन जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत क्षेत्रमा सुरक्षा अवस्था कडा बनाइएको छ ।
आज वसेको स्थानीय प्रशासनसहितको सर्वदलिय बैठकले अनुसन्धानलाई प्रभावित गर्ने गरी गर्ने गरिएको प्रदर्शनलगायतका गतिविधिलाई नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्ने निर्णय गरेको छ । तर केही मिडियाहरुमा सो क्षेत्रमा निषेधआज्ञा घोषणा गरिएको भन्ने आएकाले त्यसो नगरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।











