काठमाडौं । महसुल नतिरी ट्रंक र डेडिकेटेड ९समर्पित० लाइन उपयोग गरिरहेका ग्राहकको बिजुली नेपाल विद्युत् प्राधिकरणले काटिदिने भएको छ।
एउटा सबस्टेसनदेखि अर्को सबस्टेसनसम्म तानिएको तार ट्रंक लाइन हो र निश्चित प्रकृतिका ग्राहकका लागि निर्मित डेडिकेटेड लाइन हो। यी चौबीसै घन्टा बिजुली आपूर्ति हुने सुविधायुक्त लाइन हुन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस्तो विशिष्टीकृत सुविधा उपभोग गरेर २०७३ सालदेखि महसुल नतिरेका ग्राहकको लाइन काट्ने चेतावनी दिए आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
तीन वर्षदेखि यस्ता उच्च प्रभावशाली ग्राहकबाट विद्युत् महसुल नउठाएर उनीहरूलाई सुविधा दिएको भन्दै प्राधिकरणको आलोचना भइरहेको छ। कार्यकारी निर्देशक घिसिङका अनुसार विशिष्ट प्रकृतिको सुविधा उपभोग गरेबापत करिब ४ अर्ब ३० करोड रुपैयाँ उठ्न बाँकी छ।











