काठमाडौँ, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताएका छन् ।
आज नयाँ बानेश्वरस्थित संसद् भवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उनले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट पारे ।
“सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ”, उनले भने । अहिले विप्लव समूहले कम्युनिष्टको सरकारलाई असफल बनाउने, लोकतन्त्रलाई धरापमा पार्न खोज्ने, विकासनिर्माणको काम हुन नदिने र सरकारको लक्ष्य समाजवादलाई अवरोध गर्न खोजेको बताउँदै उनले भने, ‘‘उहाँहरु सहज भएर आउनुहुन्छ । नभए जेलमा बसालेर भए पनि राजनीतिक मूलधारमा ल्याइन्छ ।’’
प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर विप्लवको समूहलाई सहिष्णुता देखाए पनि उनीहरुले भने आफ्ना नेतालाई मार्ने भनेर कार्यकर्ता खटाएको जिकिर गरे । रासस











