इन्द्रेणी संवाददाता
दाङ, ७ पुस । शुक्रवार साँझ दाङको घोराहीस्थित सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको गाडी दुर्घटनामा परी २३ जनाको ज्यान गएको प्रति सभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गरेका छन् । महराले आज एक विज्ञप्ति जारी गरी उक्त घटना अत्यन्त अकल्पनीय र दुखद भएको उल्लेख गर्दै महराले दुःख व्यक्त गरेका हुन् ।
‘यही बर्षदेखि दाङमा सञ्चालनमा आएको उक्त शिक्षालयमा अध्ययनरत विद्यार्थीहरु चढेको गाडी दुर्घटनामा परी दुई जना शिक्षकसहित २२ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा कोहलपुरमा निधन भएको तथा अहिले १४ जना घाइते अवस्थामा रहेको खबरले मलाई निकै भावविह्वल बनाएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘निकै दर्दनाक, अकल्पनीय र भयानक दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दछु । दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचारमा कुनै कसर बाँकी नराख्न म सम्बन्धित सबैलाई विशेष अपील गर्दछु । भयानक र दर्दनाक घटनाबाट निधन भएका व्यक्तिहरुका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै अकल्पनीय पीडालाई सहन गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।’
यसैबीच घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । त्यस्तै प्याव्सन दाङ घोराही नगर समितिका अध्यक्ष विरेन्द्र चन्दले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।











