दाङ, ६ पुुस । दाङको टरिगाउँ विमानस्थलमा आधुनिक यात्रु प्रतिक्षालय टर्मिनल भवन वन्ने भएको छ । भवन निर्माणका लागि नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया समेत अगाडि वढाइसकेको छ ।
प्राधिकरणले टेण्डर आव्ह्वान गर्दै प्रक्रिया अगाडि वढाएको हो । ६० लाखको लागतमा टर्मिनल भवन निर्माण गरिन लागेको प्राधिकरणले प्रकाशन गरेको टेण्डरमा उल्लेख गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाकाको पहलमा नियमित विमान सेवा सञ्चालन हुन थालेपछि टर्मिनल भवन निर्माणको प्रक्रिया अगाडि वढेको हो । विमान सेवा निरन्तर सञ्चालन भएपनि पुरानो भवनका कारणले यात्रुहरुले दुख पाउँदै आएका थिए । टर्मिनल भवन निर्माणसँगै यात्रुहरुलाई सहज हुने विश्वास गरिएको छ ।
भवन निर्माणका लागि टेण्डर हुनुले विमानस्थल नियमित सञ्चालनमा आउने संकेत गरेको उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए ।
काठमाडौमा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग लविङ्गमा व्यस्त रहेका पाण्डेले पुस भित्रैबाट विमान सेवा दैनिक रुपमा सञ्चालनका लागि तयारी भइरहेको समेत वताए । ‘अस्थायी डिपो निर्माणका लागि पनि स्थलगत अध्ययनमा अर्को साता काठमाडौको टोली आउँदैछ’ पाण्डेले वताए । नगरप्रमुख पाण्डेले टर्मिनल भवन निर्माणका लागि पहल गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । ‘यो समग्र दाङ्गको उपलब्धि हो’ पाण्डेले भने ।










