शंकर के सी
सल्यान, १ असोज । सल्यान रिमको एक विद्यालयको मुहार स्थानीय सरकारको कारण बदलिदै गएको छ । स्थानीय तहमा जनप्रतिनिधी आएको एक वर्षभित्रै पक्की भवन निर्माण, सीसी कयामेरा तथा विद्युतीय हाजिर जडान जस्ता कार्य सम्पन्न भएपछि विद्यालयको मुहारनै फेरिदै गएको जीवनज्योती माध्यामिक विद्यालय कपुरकोट रिमले जनाएको छ ।

IMG_9451भवन तथा पुस्तकालय उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टोपेन्द्र केसीले ठूलो रकम विनियोजन गरी कपुरकोट गाउँपालिकाले शिक्षा क्षेत्रलाई महत्व दिएकोमा धन्यवाद दिए ।

गाउँपालिकाको ४९ लाख ५५ हजार र विद्यालयको ६ लाख ७५ हजार १ सय ७४ रुपैयाँ गरी जम्मा ५६ लाख ३० हजार १ सय ७४ रुपैयाँको लागतमा चारकोठे पक्की भवन निर्माण भएको हो । उक्त भवनको गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले उद्घाटन गर्दै भौतिक पूर्वाधारको विकास र शैक्षिक विकासमा विशेष ध्यान दिइएको बताए ।

अव दक्ष जनशक्ति उत्पादन गर्ने गरी शिक्षक, अभिभावक सरोकारवाला सबै शिक्षा क्षेत्रको विकासमा लाग्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘विद्यालयमा आवश्यक जनशक्ति, भौतिक संरचना निर्माण तथा अन्य विभिन्न सहयोग हामी गर्छाैँ । शिक्षकहरुले मिहेनत गरेर पढाउनुस् ।’

सोही अवसरमा पुस्तकालयको पनि उद्घाटन गरिएको छ । दलित विकास समाज सल्यानको कार्यक्रम रुमटूरिडको सहयोगमा स्थापना गरिएको पुस्तकालयको गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले उद्घाटन गरेकि हुन् ।

अहिले एक लाख ५० हजार बढिको लगानीमा पुस्तकालय स्थापना गरिएको जनाउँदै ३ वर्ष सम्म १० लाख लगानी गरेर पुस्तकालयमा ४ हजार बढी पुस्तकको संख्या पुर्याइने रुमटूरिडले जनाएको छ । अहिले बालबालिका तथा अभिभावकलाई पनि उपयोगी ९ सय ७३ पुस्तक राखिएको छ ।