बझाङ, ६ साउन । बझाङमा पहिरोमा परी एकै परिवारका तीन गरी चारजनाको ज्यान गएको छ । शनिवार दिउँसो आएको पहिरोमा परी खप्तड छान्ना गाउँपालिका–६ बयानामा एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै ज्यान गएको हो ।
यसरी मृत्यु हुनेहरुमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको घटनास्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिए ।
गाउँ नजिकै रहेको शिव मन्दिर पहिरो जाँदा चौतारामा बसिरहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।











