सुर्खेत, २३ जेठ । कर्णाली प्रदेशको सुर्खेतमा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने उक्त विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज टिएइसी ए नट जेभीका प्राविधिक सुरज कोइरालाले रू। सात अर्ब ४१ करोड लागत लाग्ने बताए ।

surkhet airpotमङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित कर्णाली प्रदेश सरकारका मन्त्रीले गरेको स्थलगत अनुगमनको क्रममा जभीका प्राविधिक कोइरालाले यो कुरा सार्वजनिक गरेका हुन् ।

उनले पूर्वपश्चिम चार किलोमिटर लम्बाइ र उत्तर–दक्षिण एक किलोमिटर चौडाइ भएको विमानस्थलको कुल क्षेत्रफल ३६ हजार रोपनी रहेको बताए । प्राविधिक कोइरालाका अनुसार सम्भाव्यता अध्ययनको प्रतिवेदनका आधारमा अब डिपिआर बन्नेछ ।

हवाई तथा स्थलगत अनुगमनमा न्याउलीचौर पुगेका पर्यटन मन्त्री अधिकारीले पिछडिएको साथै पर्यटनको अथाह सम्भावना भएको कर्णाली प्रदेशको विमानस्थल निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए । मन्त्री अधिकारीले भने, ‘यसको डिपिआर तयार गरेर अब चाँडै शिलान्यास पनि गर्छौं ।’

काठमाडौंबाहेकका बाहिरी जिल्लाबाट पनि छिमेकी देशमा हवाई सेवा सञ्चालन गर्ने दौडानको क्रममा प्रथमतस् कर्णालीको सुर्खेतमा अन्तरराष्ट्रियस्तरको विमानस्थल बनाउनतर्फ बढी जोड दिने मन्त्री अधिकारीको भनाइ थियो ।

प्रदेशले आफ्नै कानूनमार्फत पर्यटन बोर्ड स्थापना गर्न सुझाउँदै उनले राराको समग्र गुरुयोजना आवश्यक रहेको औँल्याए । उनले भने, ‘कर्णालीका हुम्ला र डोल्पाका जनताको लागि हवाई मार्ग एकमा विकल्प हो, त्यसका लागि काठमाडौँका सबै एयरलायन्सलाई तल स्टेशन बनाउन अनुरोध गरिएको छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले प्राविधिक दृष्टिकोणले सुर्खेत उपत्यकाभित्र विमानस्थल बन्न नसक्ने अवस्था भएपछि उपत्यका बाहिर हेर्नुपरेको बताए । ‘सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार २५० छ, तर अहिले बनाउन थालिएको विमानस्थलको धावनमार्ग दुई हजार ६५० मिटरसम्मको हो । यसमा ठूला विमान उडाउन सकिन्छ,’ उनले भने ।

प्राधिकरणले गुगल नक्साङ्कनबाट सुर्खेत उपत्यकाभित्रको उत्तरगङ्गा, उपत्यका बाहिरको भेरीगङ्गा नगरपालिकाको रामघाटस्थित न्याउलीचौर र मदानेचौर छनोट गरेको थियो । तिनलाई पुनः नक्साङ्कन गर्ने प्राधिकरणले जानकारी दिएको छ । हाल कर्णालीमा आठओटा विमानस्थल सञ्चालन रहेको बताइएको छ । रासस