काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी ओली असार पहिलो साता चीन भ्रमणमा जाने गरी तयारी सुरु भएको छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को सम्मेलनपछि प्रधानमन्त्रीलाई बेइजिङमा स्वागत गर्ने सन्देश चीनले पठाएको छ ।
प्रधानमन्त्रीले ३० वैशाखमा संसद्लाई सम्बोधन गर्दै छिटै चीन जाने घोषणा गरेका थिए । ओलीले यसअघि ०७२ चैत पहिलो साता चीन भ्रमण गरेका थिए । २६ र २७ जेठमा चीनले एससिओको सम्मेलन आयोजना गर्दै छ, जहाँ राष्ट्रपति सी जिनपिङ सहभागी हुनेछन् । प्रधानमन्त्री ओली पनि १५ जेठमा बजेट ल्याएपछि चीन जान चाहन्छन् ।
‘जेठ २४ देखि २६ सम्म प्रधानमन्त्री ओली बेइजिङमा रहने गरी चीन भ्रमणका विषयमा छलफल भएको थियो, तर त्यो मितिमा चिनियाँ नेतृत्वको समय मिल्ने अवस्था छैन,’ कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘त्यसकारण समय मिलाएर असारको पहिलो साता भ्रमण हुन सक्ने अवस्था छ ।’
प्रधानमन्त्रीलाई कूटनीतिक मामिलामा सल्लाह दिँदै आएका नेकपाका नेता डा। राजन भट्टराईले प्रधानमन्त्रीले चीन भ्रमण गर्ने निश्चित भए पनि मिति टुंगिन बाँकी रहेको बताए । ‘भ्रमणको मिति तय भएको छैन, बजेट ९जेठ १५०पछि मात्रै उहाँ चीन जाने निश्चित हुनेछ,’ उनले भने । प्रधानमन्त्रीको चीन भ्रमणको तयारीबारे परराष्ट्र मन्त्रालयले चीनको सम्बन्धित मन्त्रालयसँग समन्वय गरिरहेको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली वैशाख पहिलो साता चीन भ्रमणमा जाँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे चिनियाँ नेतृत्वसँग छलफल भएको थियो । ५ वैशाखमा चीनका परराष्ट्रमन्त्री वाङ यीले समकक्षी ज्ञवालीसँग प्रधानमन्त्री केपी ओलीलाई यथाशीघ्र चीनमा स्वागत गर्न आतुर रहेको बताएका थिए । परराष्ट्रमन्त्री ज्ञवालीले पनि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपालमा स्वागत गर्न नेपाल आतुर रहेको बताएका थिए ।
वाङले पत्रकारसम्मेलनमा भनेका थिए, ‘नेपालले हार्दिकतापूर्वक गरेको पुनर्निमन्त्रणालाई स्वागत गर्दै उपयुक्त समयमा चीनको उच्च नेतृत्वको भ्रमण सहजीकरण गर्न तयार छौँ ।’ प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी हुनेछ ।
नेपालमा राजनीतिक स्थिरतामा जोड दिँदै आएको चिनियाँ नेतृत्व अब नेपालमा आउन सहज भएको नेपाली अधिकारीको बुझाइ छ । चिनियाँ परराष्ट्रमन्त्री वाङले एक महिनाअघि ज्ञवालीसँग २०१८ भित्र चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने जवाफ दिएका थिए ।
पार्टी एकताको स्वागत गर्छौं : चीन
चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले नेपालका दुई कम्युनिस्ट पार्टीबीचको एकीकरणलाई चीनले स्वागत गरेको बताएका छन् । बेइजिङमा शुक्रबार आयोजित पत्रकारसम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा काङले पार्टी एकीकरणपछि नेपालले चाँडै राष्ट्रिय विकासको लक्ष्य पूरा गर्ने चीनको विश्वास पनि व्यक्त गरेका छन् ।
‘नेपालको असल मित्र र छिमेकीका रूपमा चीन नेपालको राष्ट्रिय परिस्थितिअनुकूल हुने गरी नेपालले छनोट गर्ने सामाजिक प्रणाली र विकासयात्रालाई समर्थन गर्दछ,’ प्रवक्ता काङले भनेका छन्, ‘दुई पार्टी एकीकरणलाई हामी स्वागत गर्छौं र आशा गर्छौं कि अब नेपालले राष्ट्रिय विकासको लक्ष्य चाँडै नै हासिल गर्नेछ । चीन नेपालसँग आपसी हितमा आधारित रहेर दुई जनता र देशबीच सहकार्य गर्न तयार छ ।’ नयाँ पत्रिकाबाट











