काठमाडौं, १८ वैशाख । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउने गरिन्छ ।

विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

यो वर्ष अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ (स्वतन्त्र)लगायतका मजदुर सङ्गठनले सभा ¥यालीलगायतका विविध कार्यक्रम गर्दैछन् ।

संविधानमा व्यवस्था भएको श्रमिक हकअधिकारका व्यवस्था कार्यान्वयनमा यसवर्षको दिवस केन्द्रित गरिएको छ । यसैबिच, ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले आफूहरूको श्रमको सम्मान हुनुपर्ने माग गर्दै शान्तिबाटिकामा ¥याली गर्दैछन् ।

यस्तै दश मजदुर सङ्गठनको संयन्त्र ‘संयुक्त ट्रेड युनियन समन्वय केन्द्र’ले श्रम आयोग गठन गर्नुपर्ने माग गरेको छ । केन्द्रका अध्यक्ष खिलनाथ दाहालले संविधानमा धेरै आयोग गठन भए पनि श्रमिक वर्गको आधारभूत हकअधिकारका लागि गठन हुनुपर्ने श्रम आयोग गठन नभएको भन्दै तुरुन्त आयोग गठनको प्रक्रिया अगाडि बढाउन माग गर्नुभएको हो ।

आफूहरूले माग गरेअनुरुप संविधानमा सामूहिक सौदाबाजीको अधिकार र सामाजिक सुरक्षाको प्रत्याभूति गरिएपनि राज्यका नीति निर्माणमा श्रमिकको १० प्रतिशत प्रतिनिधित्व, देश र विदेशमा कार्यथलोबाटै मताधिकारको माग पूरा नभएको उहाँले बताउनुभयो । श्रम ऐन र सामाजिक सुरक्षा ऐन लामो समयदेखि थन्किएको भन्दै तुरुन्त पारित गर्न केन्द्रले माग गरेको छ ।