घोराही, ३० चैत्र । घोराही उपमहानगरपालिकाले यस बर्षको कक्षा ८ को जिल्ला स्तरीय परिक्षाको नतिजा सार्वजनिक गरेको छ । यस बर्ष देखी स्थानिय सरकारले आफै सञ्चालन गरेको कक्षा ८ को परिक्षाको नतिजा उपमहानगरले विहिबार सार्वजनिक गरेको हो । घोराही उपमहानगरपालिका स्तरीय आधारभुत तहको परिक्षा समितिका अध्यक्ष एवं प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीको अध्यक्षतामा कक्षा ८ को नतिजा सार्वजनिक गरिएको हो । ३९ वटा सरकारी र ४४ वटा निजि विद्यालयबाट परिक्षामा सहभागि भएका ४ हजार ४ सय ६१ जना परिक्षार्थी मध्य ४ हजार १४ जना पास भएका छन् । परिक्षाको नतिजा अक्षरांकबाट ग्रेडमा प्रकाशित गरिएको छ ।

जस अनुसार ‘ए’ प्लसमा ९१ जना, ‘ए’ मा ३ सय ७५ जना, ‘वि’ प्लसमा ७ सय ३९, ‘वि’ मा ९ सय ४६, ‘सि’ प्लसमा १ हजार १ सय ८७, ‘सि’ मा ४ सय २८, ‘डि’ प्लसमा २ सय ४९, ‘डि’ मा ३ सय १६ र ‘इ’ ग्रेड १ सय ३० जनाले लिएकास शिक्षा शाखा प्रमुख नारायण प्रसाद पौडेलले जानकारी दिनुभयो ।

डि र ई ग्रेड ल्याउने विद्यार्थी ४ सय ४६ जना रहेका छन भने उनिहरुले कक्षा ९ मा पढ्न नपाउने भएका छन् । तर दुई बिषयमा फेल भएकाहरुलाई भने बैशाख १ देखी १२ गते सम्म स्तरबृद्धीका लागि निबेदन दिने व्यवस्था गरिएको शिक्षा शाखाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले शिक्षालाई राम्रो बनाउन शिक्षक, विद्यार्थी र अभिभाबकहरु विचको एकीकृत पहल हुनुपर्नेमा जोड दिनुभयो । शिक्षकले जिम्मेवारी पुरा गर्ने, विद्यार्थी लगनशिल भएर पढ्ने र अभिभाबकले निगरानी राखे मात्रै पनि शिक्षाको गुणस्तर बढ्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख सीता न्यौपाने, स्रोत व्यक्तिहरु र शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण स्रोत व्यक्ति हुमबहादुर केसीले गर्नुभएको थियो ।