काठमाडौँ, ६ चैत । मोफसल तथा राजधानीका विभिन्न साहित्यिक समारोहहरूमा फरक हुलिया बोकेर कविता सुनाउँदै हिँड्ने कवि मुकुन्द खलपात्र युवा पुस्तामाझ चर्चित र लोकप्रिय बनिरहेका नवकवि हुन् । संग्रह ननिस्किँदै चर्चित बनिरहेका चितवनका उनै खलपात्रले सोमबार राजधानीको मण्डला नाटकघरमा आफ्ना फरक स्वादका कविता सुनाए ।

20180311_182901चितवन–काठमाडौँ सेवा समाजको आयोजना तथा आँबुखेरेनी सेवा समाजको सहआयोजनामा चितवनमा थिएटर निर्माणका लागि माहौल तताउने उद्देश्यले आयोजित कार्यक्रममा उनले ‘नमस्ते सर’, ‘मिस हिमाल’, ‘पशुपति कोलाज’, ‘पोष्टमार्टम पृथ्वी’, ‘जिन्दगी एक कारोबार’, ‘जिन्दावाद ! मुर्दावाद’, ‘मरुभूमिमा पहाड’, ‘उम्दा मनस्थितिको हत्या’ लगायतका करिब डेढ दर्जन कविता सुनाएका थिए ।

कविता सुन्न नाटकघर पुगेका कवि तथा प्राज्ञ श्रवण मुकारुङले खलपात्र एक विद्रोही कवि भएको दाबी गरे । उनले खलपात्रलाई विश्वप्रसिद्ध अमेरिकी कवि एलिन्स ग्रिन्सवर्गसँग तुलना गर्दै भने, “अराजक शब्दहरूलाई निर्भयताका साथ प्रयोग गर्दै कविता रचना गर्ने खुबी भएका विद्रोही चेतका कवि हुन् मुकुन्द खलपात्र । उनी समाजका अराजकता र व्यथितिहरूका विरुद्ध कडा तर कलात्मक ढङ्गले प्रहार गर्ने सामथ्र्य राख्छन् ।”

युवाकवि असीम हमालले चितवनमा एउटा थिएटर निर्माण गर्ने आफूहरूको सपना रहेको भन्दै त्यसका लागि सबैको सहयोगको खाँचो रहेको बताए । उनले भने, “कविता वाचन कार्यक्रम यही अभियानका लागि हो ।”