रौतहट, ६ चैत। रौतहटस्थित एक इँटाभट्टाका मजदूरमाथि गोली प्रहार भएको छ । कटहरिया नगरपालिका–८ पिप्रापोखरिया गाउँ छेउ रहेको नेम इँटाभट्टाका मजदूर ५० वर्षीय रामअसिष यादवमाथि अज्ञात समूहले गए राति गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गरुडा नगरपालिका–५ महमदपुुर घर भएका मजदूर यादव सोमबार राति इँटाभट्टामा अर्का एक मजदूरसँग सुुतिरहेका थिए । राति करीव ११ः३० बजे अज्ञात समूहले यादव माथि गोली प्रहार गरेको गरुडा इलाका प्रहरी कार्यालयले जनाएको छ ।
यादवको ढाडमा गोली लागेकाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पठाइएको छ ।











