डोल्पा, २४ फागुन । डोल्पाको ठुलीभेरी नगरपालिकाको केन्द्र विवादका कारण एउटै नगरका दुईवटा कार्यालय स्थापना भएका छन् ।
फागुन १६ गते डोल्पाको दुनैमा रहेको नगरपालिकाको केन्द्र जुफाल सारिएसँगै त्यहाँ कार्यालय स्थापना भइसकेको र सर्वसाधारणले जुफालबाटै सेवा लिइरहेको वडा नम्बर ९ अध्यक्ष विमल भण्डारीले बताए ।

dolpaयता उक्त नगरपालिकाका उप–प्रमुख योगेन्द्रबहादुर शाहीले मंगलबार बेलुकी दुनैमा गर्नु भएको जनप्रतिनिधिसहितको पत्रकार सम्मेलनमा नगरको केन्द्र दुनै नै रहेकाले जनतालाई सेवा लिन अन्योलमा नपर्न आग्रह गरेका छन् ।

नगरप्रमुख गणेशबहादुर शाहीले असार ३१ मा गरेको निर्णय जालसाजी र किर्ते भएकाले जुफालमा केन्द्र तोकिए पनि मान्य नरहेकाले मंगलबार कुल ५२ सदस्यमध्ये २७ जना सदस्यको बहुमतले नगरपालिकाको केन्द्र दुनैमा नै रहेको जानकारी गराउँदै ठुलीभेरी नगरपालिकाको काम जनताले दुनैबाट नै पाउने नगरसभाले निर्णय गरेको उपप्रमुख शाहीले पत्रकार सम्मेलनमा जानकारी गराए । केन्द्र सारेको विरोधमा एक सातादेखि जारी आन्दोलनका कारण बन्द भएको दुनै बजार बुधबार बिहानदेखि खुलेको छ । रासस