इन्द्रेणी संवाददाता
दाङ, २३ फागुन । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको काम सबै शून्य अवस्थाबाट शुरु गर्नुपर्ने भएकाले धेरै चुनौतीहरु रहेको बताए । प्रदेश सरकार सञ्चालनमा चुनौती भएपनि जनताको साथ पाए आफूहरु जस्तोसुकै चुनौती पनि सामना गर्न तयार रहेको बताए ।

sangkarनेकपा एमाले दाङले आज दाङको घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री पोख्रेलले प्रदेश सरकार सञ्चालन गर्न आवश्यक कानुन निर्माण गर्न लागिएको र कानुन निर्माण भएपछि जनताको आकाक्षा र संमृद्धिका लागि काम गर्ने बताए । आफूहरुले मन्त्रिपरिषद विस्तारभन्दा पहिलो प्राथमिकता कानुन निर्माणलाई दिएको भन्दै उनले अब प्रदेशस्तरीय योजना आयोग निर्माण गरेर प्रदेश नम्बर ५ का जनताको आकांक्षा अनुसार योजना तर्जमा गरेर अघि वढ्ने जानकारी दिए ।

‘अन्य प्रदेशमा मन्त्रिपरिषद विस्ताकार भइरहेका छन् तर हामीले त्यो भन्दा महत्वपूर्ण काम प्रदेश सञ्चालनका लागि कानुन आवश्यक छानियौं र कानुन निर्माणमा जुटेका छौं’, उनले भने, ‘अब हामी प्रदेशस्तरीय योजना आयोग पनि निर्माण गर्दैछौं ।’

प्रदेशको स्थायी राजधानीको प्रशंगमा उनले दाङ प्रदेश ५ को लागि सबैभन्दा उपयुक्त जिल्ला भन्नेमा कुनै दुई मत नभएको उल्लेख गर्दै मन्त्री पोख्रेलले यसलाई स्थायीत्व दिनका लागि पद्धतीमा जानु आवश्यक रहेको बताए । उनले दाङले परिकल्पना गरेको संमृद्धिलाई किमार्थ चुक्न नदिने भन्दै उनले यसका लागि जनताले साथ दिन आग्रह गरे । उनले दाङलाई शिक्षा क्षेत्रको हव पनि बनाउने प्रतिवद्धता जनाए ।