इन्द्रेणी संवाददाता
माघ ६, काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद भएपछि मिना ढकालले मुख खोलेकी छिन । उनले अाफूले मनोजलाई २०४९ सालतिर अारअार क्याम्पसमा भएको स्वयुवि चुनावको बेला चिनजान भएको बताएकी छन् ।
मिनाले मनोज सुरुमै राजनीतिमा भन्दापनि कलाकारितामै फिट देखिने गरेको बताएकी छन् । विवाहपछि पत्नीको हैसियतमा अाफूले सहयोग गरेको बताइन् । मिनाले अाफूले सहयोग गरेपनि मनोज अाफ्नै संघर्ष र क्षमताको कारण लोकप्रिय भएको समेत बताएकी छन् ।
”विवाहहपछि पत्निको हैसियतले मनोजलाई स्थापित गर्न पक्कै सपोर्ट भयो होला, त्यो सहायक हो । मुख्यत: मनोजको आफ्नै संघर्ष र क्षमताले उनलाई लोकप्रिय कलाकार बनाएको हो” मिनाले भनिन् ।
उनले मनोजको घमण्डलाई मान्न नसकिने बताएकी छन् । ”यहाँ त यस्तो घमण्ड उजागर भयो कि मनोजलाई जन्माएको चाहीं मैले होइन, अरू सबै मैले गर्दा बनेको हो । यो कुरालाई स्वीकार गर्न सकिन्न” मिनाले भनेकी छन् ।
दम्पत्तिमध्ये उमेर, योग्यता, क्षमता र सामाजिक हैसियत जसको अगाडि छ उसैलाई केन्द्रबिन्दु बनाएर अगाडि बढ्ने र उपलव्धीलाई सामूहिकरुपमा ग्रहण गर्ने संस्कारको कुरामा मनोजमा अभाव देखिएको बताएकी छन् ।
यस्तो संस्कार र परम्परामा नहुर्किएका आत्मकेन्द्रितहरू आफ्नै हिसावकिताव राख्नमा व्यस्त रहेन गरेको बताउँदै मनोज त्यस्तो संस्कार र परम्परामा नहुर्किएको अारोप लगाएकी छन् ।
”हिसावकितावको नाफा खोज्ने ? यसरी हिसावकिताव राखेर नाफा खोज्नेहरूको माया प्लास्टिकको फुलको सुभाष जस्तो हुन्छ” मिनाले भनिन् । उनले अन्तस्करणदेखि माया, सम्मान र सहकार्य नहुने भन्दै छुट्टिएकै राम्रो भएको बताएकी छन् ।
लामो समयदेखि अलग बस्न थालेको र मिल्ने सम्भावना नभएपछि मिनाका माइती र मनोजका परिवारको सहयोगमा कानुनी रुपमा सम्बन्ध विच्छेद भएको बताइएको छ । जुनकिरी अनलाइनमा खबर छ ।
पारिवारिक स्रोतका अनुसार मनोज र मिना दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् ।
गएको पुस ११ गते कानुनी प्रक्रिया टुंगोमा पुगेपछि मनोज छोरासँग बालकोटस्थित घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्न थालेकी छन् ।
सम्बन्ध विच्छेदको कारणका बारेमा हालसम्म दुवैले मुख खोलेका छैनन् । तरपनि उनीहरुबीच लामो समयदेखिको चिसोपन थियो । मिनालाई मनोजको पेशा मन परेको थिएन । मनोज र मिनाको राजनीतिक आस्था पनि फरक फरक पार्टीमा छ ।











